Monday, August 1, 2016

ब्लड मनी’ तिर्न नसक्दा साउदीको जेलमा





  • ९० लाख रुपैयाँ तिर्न अदालतको आदेश



  • परिवार भन्छ, ‘स्वदेश फर्काउन पहल गरिदिनुस्’

  • -कविराज बुढा



    श्रावण ७, २०७३- साउदी अरबको अदालतले फैसला गरेको तीन लाख साउदी रियाल (करिब ९० लाख रुपैयाँ) ‘ब्लड मनी’ तिर्न नसक्दा कुशादेवी २ का युवक १५ महिनादेखि त्यहाँको केन्द्रीय कारागारमा छन्। हयालस्थित कारागारमा राखिएका रामचन्द्र तिमल्सिनाको परिवारले स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको छ।
    उनले चलाएको ट्रकले २०७२ जेठ १० मा एक पाकिस्तानी चढेको कारलाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो। २०१६ अप्रिल २४ मा अदालतले ब्लड मनि तिनुपर्ने फैसला गरेको थियो। चार वर्षका छोरा आयुष र सात वर्षका निराजनले बाबा कहिले आउनुहुन्छ भन्दा पत्नी सरिता भक्कानिन्छिन्।
    छिट्टै आउने उनको जवाफ दुवैले पत्याउन छाडेका छन्। उनी स्वदेशमा पनि बस चालक थिए। पाखोबारी धितो राखेर किनेको बसबाट फाइदा नभएपछि ६ लाख रुपैयाँ ऋण तिर्न विदेशिएका थिए। काठमाडौं त्रिपुरेश्वरस्थित वल्र्डवाइड इम्प्लोइमेन्ट प्रालिलाई एक लाख रुपैयाँ बुझाएर २०७० असारमा उनी साउदी अरेबिया पुगेका थिए। दाजु देवराजको मृत्यु भएपछि उनका तीन छोराछोरीको रेखदेखको जिम्मा पनि रामचन्द्रकै काँधमा आएको थियो।
    पत्नी सरिता लालाबाला बोकेर मन्त्रालय, विभाग र कन्सुलर कार्यालय धाइरहेकी छन्। धेरै पटक जिल्ला प्रशासनको पनि ढोका ढकढक्याइन्। सरकारी निकायले केही गर्न नसक्ने जवाफ दिएको उनले बताइन्। ‘आफैंले सकेको गर्नुस्, सरकारी तबरबाट केही हुँदैन, विदेशमा अलपत्र पर्ने धेरै छन्, सबैलाई सहयोग गरेर साध्य लाग्दैन भन्ने पो जवाफ पाइयो,’ उनले भनिन्।



    No comments:

    Post a Comment